StarPratika.com

३ वर्ष अगाडि / ४७३  पटक हेरिएको

भदौं ११ देखि २२ गतेसम्म मलेसियामा हुने एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलंका प्रस्थान गरेको छ ।
नेपाली टोलीले श्रीलंकामा रहँदा त्यहाँको ३ स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधवार श्रीलंकाको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्ने छ ।
दोस्रो अभ्यास खेल शुक्रवार ब्लुमफिल्ड क्लबसँग उसैको मैदानमा खेल्ने छ । अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्ससँग आगामी आइतवार खेल्ने छ ।
नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामना सहित बिदाइ गरे । उनले नेपाली टोली प्रतियोगितामा विजयी बन्दै एसियाकप खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पछिल्लो समय वर्षाका कारण प्रशिक्षणमा केही समस्या भएपनि श्रीलंकामा हुने अभ्यास खेलले नेपालको प्रदर्शनमा सुधार हुने बताए । प्रतियोगितामा सहभागी हुने सबै टोली उत्कृष्ट रहेको बताउँदै उनले नेपालको लक्ष्य एसिया कपका लागि छनोट हुने रहेको प्रतिक्रिया दिए ।
कप्तान पारस खड्काले प्रतियोगिता जित्न कुनै कसर बाँकी नराख्ने बताए । एक दिवसीय मान्यता पाइसकेको नेपालका लागि प्रतियोगिता जित्नुपर्ने दबाब छ हाम्रो लक्ष्य पनि प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग खेल्ने नै हो कप्तान खड्काको भनाइ छ ।
छोटो समय भएपनि नयाँ ब्याटिङ प्रशिक्षकबाट नयाँ प्राविधिक कुरा सिक्ने मौका पाएको बताउँदै कप्तान खड्काले बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्न सके प्रतियोगिता जितिने बताए ।
एसिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युनाईटेड अरब इमिरेटस (युएइ), हङकङ, सिंगापुर र ओमानसँग प्रतिष्पर्धा गर्नेछ । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ र हङकङसँग भदौ १९ गते खेल्ने छ ।
प्रतियोगिताको शीर्ष २ टोलीले फाइनलमा खेल्ने छन् भने प्रतियोगिता विजेताले भदौ २८ गतेदेखि युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

Coming soon

Contact

Coming soon