StarPratika.com

१० महिना अगाडि / २७४  पटक हेरिएको

काठमाडौं, ३० जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सय भन्दा बढी नेपालीको उद्धार गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।

अहिलेसम्म म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिसकिएको संघले जनाएको छ । कोरोना भाइरसको संक्रमणपछि महिला, बालबालिकालगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनसीसी, कुवेत र युएईलाई छ हजार डलर सहयोग गरेको थियो ।

अध्यक्ष पन्तले बाँकी अन्य नेपालीको उद्धारका लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । विभिन्न मुलुकबाट कूल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड–१९ को प्रभावका कारणले मलेशिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा छन् ।  यस्तै संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड–१९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा संघले करिब रु ७० लाख आर्थिक सहयोग गरेको छ । यसअघि गैरआवासीय नेपाली सङ्घले अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा (राष्ट्रिय समन्वय परिषद्) लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon