Breaking News

काठमाडौँ, १३ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलगायतका क्षेत्रमा विश्व बैङ्क र निजी क्षेत्रबीचको सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।

महासङ्घका अध्यक्ष भवानी राणासहित पदाधिकारी र नेपालका लागि विश्व बैङ्कका देशीय व्यवस्थापक फेरिस हादाद जर्भसबीच आज भएको भेटवार्तामा अध्यक्ष राणाले नेपालमा रहेका सम्भाव्यतामा सहयोग गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन्।

अध्यक्ष राणाले ‘कनेक्टिभिटी’, बैङ्किङ, पूर्वाधार, सूचना प्रविधिलगायत विषयमा सार्वजनिक निजी साझेदारीका साथै सार्वजनिक निजी संवादको अवधारणाअनुरूप अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको महासंघले जनाएको छ ।

नेपालमा करमैत्री र लगानीमैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने औँल्याउँदै अध्यक्ष राणाले निजी क्षेत्रको सङ्घीय प्रतिनिधिमूलक संस्था महासङ्घको देशव्यापी सञ्जाल रहेकाले महासङ्घ र विश्व बैङ्कबीच अझ बढी सहकार्यको आवश्यकता रहेको बताए।

भेटका क्रममा विश्व बैङ्कका देशीय व्यवस्थापक फेरिसले नेपालको विकास प्रयासमा निजी क्षेत्रसँग मिलेर कार्य गर्ने विश्वास दिलाउनुभएको थियो । उहाँले विश्व बैङ्कको सहयोगको क्षेत्र र निजी क्षेत्रको अपेक्षा एकै किसिमका रहेकाले सहकार्यका लागि सहज हुने स्रोतको भनाइ छ ।

प्रकाशित मिति : 2018-08-29

फेसबुक पेज

Categories