Breaking News

भक्तपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ।

बिहानैदेखि काठमाडौँ उपत्यकामा गाडी तथा सवारीसाधन पातलो रुपमा सञ्चालन भएका छन् भने कलेज तथा स्कुलहरु बन्द छन्। बन्दको समयमा हुने अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको छ। गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो।

यसै क्रममा सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर कुकर बम फेला परेको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ। सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। बन्दको समयमा त्रास फैलाउने उद्देश्यले विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने उनले बताए।

उनका अनुसार शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति : 2018-08-14

फेसबुक पेज

Categories