Breaking News

घोडाघोडी, ३० जेठ । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडिटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ । क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको संख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडिटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ ।
निर्देशक डा गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको संख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको परिपत्रमा कोरोनाका लक्षण नदेखिएका तर क्वारेन्टिनमा १४ दिन बिताइसकेकालाई थप सात दिन होम क्वारेन्टिनमा बस्ने गरी पठाउने, आरडिटी पोजेटिभ देखिएका तर कोरोनाका लक्षण नदेखिएकालाई स्वाब संकलन गरी पिसीआर जाँचको नतिजा नआउञ्जेल होम आइसोलेसनको मापदण्डअनुसार घरकै आइसोलेसनमा पठाउने र होम क्वारेन्टिन तथा आइसोलेसनमा रहँदा कोरोनाको लक्षण देखापरेमा स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखी उपचार गराउने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 2020-06-12

फेसबुक पेज

Categories