Breaking News

काठमाडौ । कृषि टिभीबाट प्रसारण हुँदै आएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रम बन्द भएको छ । मधेसीलाई हाच्याएको भन्दै उक्त कार्यक्रम विवादमा परे परेको थियो । कार्यक्रममाथि आपत्ति जनाउँदै प्रदेश २ सरकारले संघीय सरकारलाई पत्राचार गरेको थियो । त्यस लगत्तै प्रेस काउन्सिलले कृषि टेलिभिजनलाई पत्र काटेको थियो । कार्यक्रमको गत १ जेठमा प्रसारित एपिसोड विवादमा आएको हो । उक्त एपिसोडमा गोमा पाण्डे होस्टको रुपमा र सूर्य भण्डारी मधेशी चरित्रमा प्रस्तुत भएका थिए । त्यस क्रममा भएका संवादहरूले सिङ्गै मधेशी समुदायको अपमान र बेइज्जत गरेको भनेर प्रदेश २ का महान्यायधिवक्ता कार्यालयले संघीय सरकारलाई पत्र पठाएको थियो ।

कृषि टिभीकी कार्यकारी निर्देशक लक्ष्मी चौधरीले विवाद उत्पन्न भएपछि यो कार्यक्रमको प्रसारण बन्द गरिएको जानकारी दिएकी छन् । ‘कार्यक्रम सञ्चालिकाले शब्द चयनमा गल्ती गर्नुभएको हामीले सुरुमै महसुस गरेका थियौं,’ चौधरीले बताएकी छन् ।  कृषि क्षेत्रका गतिविधि र जानकारी दिने यस टेलिभिजनले चैतको तेस्रो सातादेखि ‘कोरोना बिर्साउने गफगाफ’ सुरु गरेको थियो । कार्यक्रमलाइ गोमा पाण्डेले चलाउदै आएकी थिइन ।

प्रेस काउन्सिलले माग्यो प्रष्टीकरण

यस कार्यक्रमका विषयमा प्रेस काउन्सिलले कृषि टेलिभिजनलाई स्पष्टीकरण सोधेको छ । काउन्सिलको पत्रमा भनिएको छ, ‘यसले सिङ्गो समुदायप्रति असन्तुलित, जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सम्बन्ध, सामाजिक सद्भावमा खलल पार्ने किसिमबाट सामग्री सम्प्रेषण भएको देखियो ।’ काउन्सिलले प्रसारित सामग्रीको प्रकृति खुलाई क्षमायाचनासहित अविलम्ब सामाजिक सञ्जालबाट उक्त सामग्री हटाउन भनेको छ । साथै, यस विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र आइन्दा यस प्रकृतिका भूल नदोर्होयाउने प्रतिबद्धता व्यक्त गर्नसमेत पत्रमा निर्देशन दिइएको छ । ‘अन्यथा पत्रकार आचारसंहिता, प्रचलित ऐन, नियम, कानुनअनुसार थप कारबाही अगाडि बढाइने व्यहोरा अवगत गराइन्छ,’ काउन्सिलको पत्रमा भनिएको छ ।

प्रकाशित मिति : 2020-05-23

फेसबुक पेज

Categories